चिनियाँ राष्ट्रपतिको स्वागतमा विद्यार्थीको प्रयोग : सडकका दायाँबायाँ दुई देशको झण्डा समाएर उभ्याइने

काठमाडौं – चिनियाँ राष्ट्रपति सी जिनपिङको यही असोज २५ गतेदेखि हुने दुईदिवसीय राजकीय भ्रमणको मिति सार्वजनिकसँगै स्वागतको तयारीले तीव्रता पाएको छ ।
चीनका राष्ट्रपति सी असोज २५ र २६ गते नेपालको दुई दिने भ्रमणमा आउँदैछन् ।

भ्रमणका क्रममा चिनियाँ विशिष्ट पाहुनाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिमण्डलस्तरमा औपचारिक वार्ता गर्नेछन् ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा द्विपक्षीय सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर हुने छ ।

राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री ओलीका यसअघिका चीन भ्रमणमा भएको केरुङ–काठमाडौँ रेल, कनेक्टिभिटी, ऊर्जा र अन्य क्षेत्रमा भएका द्विपक्षीय सम्झौता र छलफलले सीको भ्रमणमा सार्थकता पाउने अपेक्षा गरिएकाले यो भ्रमणलाई महत्वका साथ हेरिएको छ । बबरमहल र टेकुस्थित पुलमा विश्वसम्पदा सूचीमा सूचीकृत नेपालका राष्ट्रिय सम्पदा र विभिन्न पर्यटकीय महत्वका तस्वीर फ्लेक्स बनाइराखिएको छ ।

सीको स्वागतका लागि भन्दै त्रिभुवन अन्तरराष्ट्रय विमानस्थल, तीनकुने, पुरानो बानेश्वर, बबरमहल, सिंहदरबार, माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकाली, गौशाला, केशरमहल, दरबारमार्ग, सुन्धारा, नक्साल भगवती, नागपोखरी, हात्तीसार, कालीमाटी, सोल्टीमोडलगायत क्षेत्रका सडक मर्मत र रङरोगन गरिएको छ ।

काठमाडौं महानगरपालिकाले तीनकुनेस्थित खुलास्थललाई कृत्रिम बगैँचामा परणित गरेको छ । चिनियाँ राष्ट्रपति सी नेपाल आउँदा त्रिभुवन विमानस्थलदेखि मुख्य सडकका दायाँबायाँ दुई देशको झण्डा हातमा समाउन लगाएर विद्यार्थी राखिनेछ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन) का अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुलाई पनि विद्यार्थी पठाइदिन सरकारले आग्रह गरेको बताए ।