काभ्रे धुलिखेल कारागारमै कैदीबन्दीलाई टीका र जमरा

काभ्रे – जिल्ला कारागार काभ्रेपलाञ्चोक धुलिखेलमा विभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीबन्दीलाई आफन्तहरुबाट कारागारमै टीका र जमरा लगाइदिएका छन् ।

कैदीबन्दीका परिवार र आफन्तका लागि जिल्ला कारागार व्यवस्थापन शाखाले टीका र जमराको व्यवस्था गरिएको थियो । उनीहरुका आफन्तले मंगलबार टीका र जमरा लगाइदिएको कारागारको सुरक्षामा खटिएका प्रहरी नायव निरीक्षक उमेश आचार्यले बताए ।

कारागार प्रशासनले टीका लगाउन आउनेहरुका लागि दशैँभरि विहान ७ बजेदेखि बेलुका ६ बजेसम्म समय तोकिएको र त्यसका लागि आवश्यक व्यवस्था मिलाइएको पनि उनले बताए ।

जिल्लाभित्रका कैदीबन्दीको परिवार र आफन्तले टीका कै दिन आउने गरेको भएपनि अन्य बाहिरी जिल्लाबाट टीकाको भोलि र पर्सिपल्टसम्म पनि आउने गरेकाले यस्तो व्यवस्था मिलाइएको उनले जनाए ।

जिल्ला कारागार काभ्रेपलाञ्चोकमा २३५ कैदीबन्दी रहेका छन् ।