तेमाल तामाङ राजा ह्रेन्जेन दोर्जेसँग पृथ्वीनारायण शाहको युद्ध इतिहास

काठमाडौं – तेमाल क्षेत्रलाई आफुहरुको इतिहासिक महत्वको क्षेत्र मान्दै आएका छन। झिंगु तथा रोशी खोला र सुनकोशी नदिले छुने मध्यपहाडी बेसि भेगमा रहेकोे तेमाल क्षेत्रले महत्त्वपूर्ण इतिहास र संस्कृतिको विरासत बोक्दै आएको छ।

हरेक वर्षका चैत शुक्ल चतुर्दशीका दिन बौद्ध स्तुपामा तामाङहरुको ठुलो तिर्थयात्रा हुन्छ। यसको भोलिपल्ट अर्थात चैत पुर्णिामामा तिर्थालुहरु बालाजुको बाइसधारामा स्नान गर्न पुग्छन र उनीहरुको यी तिर्थायात्रा स्वयम्भूमा दिप प्रज्वलन दानदक्षीण र पुजापाठसम्म पुग्छ। यसरी दुइदिनसम्म लाग्ने यो तिर्थायात्राको नाम तिमाल जात्रा हो। तिमाल क्षेत्रका अन्तिम शासक ह्रेन्जेन दोर्जेले पनि यो यो जात्रामा सहभागीता जनाएका हुनाले पनि तामाङहरुले यसलाई महत्वपूर्ण सस्कृतिक र इतिहासिक विरासतको रूपमा लिदै आएका छन।

तामाङहरुले आफ्नो अन्तिम राजा मानेको तत्कालीन तिमालका स्थानीय शासक ह्रेन्जेन दोर्जेको बारेमा अनुश्रुतिका आधारमा इतिहास लेखिएको पाइन्छ।
तर उनी स्थानीय शासक हुन भन्ने प्रामाणिक आधार प्रकाशमा आइसकेको छ।

पुरातत्व विभागको मुखपत्र प्राचीन नेपाल पुर्णङ्क: ९१ ( पुस-माग २०४२:६) मा चन्द्रप्रसाद त्रीपाठिले लेखेको प्राचीन तामाङ बस्ती: तिमालको इतिहासमा प्रकाश शिर्षकको लेखमा मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले ह्रेन्जेन दोर्जेको नाममा जारी गरेको एक तम्रापत्र छापिएको छ। तिमाल कल्लेरी निवासी भुपु न्यायाधीश धर्म प्रसाद पान्डेले सुरक्षित गरि राखेको यो तम्रापत्रमा जग्गा विर्ता दिएको भने लेखक त्रीपाठिले उल्लेख गरेका छन। विक्रम सम्वत: १८१९ भाद्र सुदिमा हरिहरपुरबाट ह्रेन्जेन दोर्जेका नाममा जारी गरिएको तम्रापत्रका व्यहोरा यस्तो छ।

विरु दावती विराज मानन्नत श्री
मत्महाराजधिराज
श्री श्री श्री दिग्वन्धन सेन देवदेवाना सदा
समय विजइ नाम
आगे ह्रेन्जेन मिझारको कल्या मटे
य मरि १० लाक्या मद्दे वाझो मुरि ६०९
…..पहरो पक्षिम सालको ……
ढलो उत्तर कोसी पुर्व डाडो ल्व (कि)
ल विर्ता गरि दियोको छ च …….
वा गरि षातिरजामा सा वित
नु विर्ताका सरह सेवा गर्नु घडे
रि पाथी तीन दिव जान्या ……
मा गरि दियाको छ। इति सम्वत १८१९
भाद्र सुदि ……. हरि

हरपुरमा आगे सुक्रीबिक्री सरिषानु
मकवानपुरका तत्कालीन राजा अर्थात अन्तिम राजा दिग्वन्धन सेनले हरिहरपुरबाट ह्रेन्जेन दोर्जेलाई यस्तो तम्रापत्र पठाएको देखिएकोले उनी तेमाल क्षेत्रका स्थानीय शासक भएको प्रामाणित हुन्छ।

तेमाल हात लिने गोर्खाली तयारी

पृथ्वीनारायण शाहले सुरुमा उपत्यका कब्जा गर्न वरिपरिका साना राज्यहरूलाई हात लिदै उपत्यकालाई घेर्दै लैजाने नीति बनाएको देखिन्छ।
यसका लागि तामाङहरुको आवाद रहेकोे र उनीहरुकै जातीय शासक रहेकोे तिमालकोट आक्रमण गरि त्यसलाई हात लिने पृथ्वीनारायण शाहले व्यवस्थित र गम्भीर तयारी गरेको देखिन्छ।

यहि अभियान अन्तर्गत नेपाल राज्य अर्थात काठमाडौं उपत्यकालाई घेर्दै जाने क्रममा गोर्खाली सेना शिवराम सिंह वस्नेतको नेतृत्वमा साँगाभन्याङमा  उत्रेको थियोे। त्यो समयमा पलान्चोक आसपासका बगाले थापाहरु गोरखालीको त्यो अभियानबाट शसंकित भए र गोर्खालीहरुलाई भगाउने जिम्मा काशिराम थापाले कान्तिपुरका राजा जयप्रकाश मल्लबाट प्राप्त गरे।

##बाबुराम आचार्यद्धार लिखित ‘श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जिवनी (२०६१:१७१-१७६) मा पलान्चोक क्षेत्रका बगाले थापाहरुलाई कसरी पृथ्वीनारायण शाहले हात लिए भन्ने प्रसङ्ग पढ्न पाइन्छ।

आचार्यको लेख अनुसार काशिराम थापाको नेतृत्वमा रहेकोे कान्तिपुरको सेनाले आक्रमण गर्दा साँगाभन्याङमा उत्रेका गोर्खाली सेनाका सेनानायक भारदार शिअराम सिंह बस्नेतलाई नै मारिदिएपछी गोर्खाली सेना नुवाकोट फर्क्यो। यसबाट जयप्रकाश मल्लको खुशीको सिमा रहेन। यता काशिराम थापा थप उत्साहित हुदै नुवाकोट पनि कान्तिपुरलाई फिर्ता गरिदिने उद्योगमा लागे। तर उनी हारे। यता जयप्रकाश मल्ल उनी संग रिसाए। नुवाकोट कान्तिपुरलाई फर्काउने उद्योगमा असफल भएपछि काशिरामलाई बोलाए।

तर जयप्रकाशले बोलाउने बित्तिकै उनी आएनन, पछि देउपाटननेरको कुटुम्बाहिमा डेरा गरि बसे। जयप्रकाश स्नान गर्ने बहानामा आएर काशिरामलाई मराए। काशिरामको हत्या पछि उनका भाइ पशुराम थापा जयप्रकाशसंग क्रुद्ध भए। यो परिस्थिति बुझिरहेको पृथ्वीनारायणले उनैलाई साँखु र चाँगुमाथी आक्रमण गर्न लगाइ त्यो कब्जा गरि आफ्नो मितबुबा रणजित मल्ललाई सुम्पे।

यस्तै चालबाजी अनुसार पृथ्वीनारायण शाहीले पलान्चोकका थापाहरुलाई पनि हातमा लिदै रहेका थिए। यता बगाले थापाहरु पनि पृथ्वीनारायण शाहसंग मिल्न लालायित थिए। यस घाटनलाई पुष्ठि गर्ने एक लालमोहर इतिहासकार मोहन प्रसाद खनालले आफ्नो पुस्तिका पृथ्वीपत्र संग्रह १’ (२०१८:१०) मा प्रकाशमा ल्याएका छन। लछिमन थापाको नाममा पृथ्वीनारायण शाहीले जारी गरेको लालमोहरको व्यहोरा यस्तो छ।

स्वस्ती श्री गरिराज चक्रचुअडामाणी नरनरायणोत्या
दि विविध विरुदावलिदिराजमानोन्नन श्री
मन्महाराजधिराज श्री श्री श्री पृथ्वीनारायण शाहदे
वानां सदासमरविजयिनाम ।
आगे लछिमन थापाके आशिषपुर्वक पत्रमिदं यहाँ कु
सल तहाँ कुसल चाहये पत्र आयो अर्थ मालुम भयो
यहाँको
समाचार निको छ उप्रान्त हिजो पनि मइले तेरो पिछा
लि
याकै हो तेरै भर परि नेल काट्यो आज उ पारिको
भोट्या उठाई
चमक्या छ अरु कोनै तेरो विराउ छैन धर्म भागी
पिछा पर्छस त हाम्रा काजी साथै कविला पठा. तेरो जति
हो तति वकसुला. उप्रान्त तेमालको काज पुर्याउछु
भनी विन्ती परि पठाइछस भलो हो. सक्या भया आ
ट. भदउका दिन नसकी जैसिले साइत दियानन
ततिन्जेलसंग भोटयालाई संझाइबुझाइ थामन्या कांम
गर. अरु बाँकी काजिकै मोहर देषत गर. इति सम्बत
१८१९ भाद्र सुदि १ रोज ६ शुभम

यस लालमोहरमा व्यक्त गरिएको भाका अनुसार लछिमन थापाले बिरे धामी नामका व्यक्तिको नेल काटेर भगाएको, बिरे पारि अर्थात तेमाल क्षेत्रमा गई भोटे अर्थात तामाङहरुलाई उक्साएको र उनीहरु पनि आवश्यक परे युद्ध लड्न तयारी अवस्थामा रहेकोे बुझिन्छ।
साथै यस लालमोहर बाट तेमालको युद्धमा लछिमन थापाले पृथ्वीनारायण शाहलाई आवश्यक सहयोग गर्ने खबर पठाएको र उनलाई सम्झाउदै बुझाउदै गर्न पनि आदेश दिएको बुझिन्छ।

तेमालको त्यो युद्ध

पृथ्वीनारायण शाह कुनैपनि क्षेत्रमा युद्ध वा आक्रमण गर्नु अघि ज्योतिषीलाई साइत हेर्न लगाउथे। माथी उल्लेखित लालमोहर अनुसार तेमाल क्षेत्रमा आक्रमण गर्न भादौ महिनाभर ज्योतिषीले साइत दिएनन भन्ने स्पष्ट हुन्छ। असोज लाग्नसाथ गोर्खालीहरुले तेमाल क्षेत्रमा आक्रमण गरे। यस युद्धमा त्यस समयमा नाम चलेको गोर्खाली भारदार र सैन्य अधिकारीहरुले त्यो आक्रमणमा भाग लिएका थिए। भाषा ‘वंशावली’ लाई उद्धत गर्दै इतिहासप्रधान पत्रीका पुर्णिामा ‘पुर्णाङ्क १४ (श्रावण, भाद्र, आस्विन, २०२४:१४४) मा पृथ्वीनारायण शाहको भाकामा यस्तो छापिएको छ:

मकवानपुर सर भयो। तेमाल र सिन्धुली फत्ते भयो। अब मैले तिमाल र सिन्धुली हानामा हो भनी आफ्नो मन्त्रीवर्गसित सल्लाह गरि तिमाल हान्न भना सर्दार दलजित शाह, काजी वंशराज पाँडे, जीव शाह, रुद्र शाही, जेठाबुढा रामकृष्ण कुँवर, प्रभृती नजिकी, द्दारया, उमराव गैह्रथरघर मालमानिस समेत फौज पिछा गर्नुभयो, लस्कर। लिइ भाइभारादारले तेमालकोट हान्या। हान्दा ३०० गिड परयाका ।

भाषा वंशावलिको यो वर्णनबाट तेमालको त्यो युद्धमा तीन सय जना मारिएका स्पष्ट हुन्छ। यसबाट तत्कालीन तिमालका तामाङ राजा अर्थात स्थानीय शासक ह्रेन्जेन दोर्जे पनि मारिए भन्ने अनुश्रुती तेमाल क्षेत्रमा पाइन्छ। उनलाई शान्ति सम्झौता गर्ने तथा मीत लगाउने बहानामा तेमालबेशी सुनकोशी बगरमा निशस्त्र आउन खबर पठाएको र त्यही शर्त अनुसार उनी त्यहाँ पुगेका तर गोरखालीहरुले सुनकोशी किनारको बालुवामुनी अघिल्लो रातिनै लुकाएर राखेको खुकुरी, भाला, तरबार, खुँडा जस्ता हतियार झिकी तामाङ राजा ह्रेन्जेन दोर्जे लगायत उनको मानिसहरूको हत्या गरिएको अनुश्रुती बटुलेर तिमाल क्षेत्रकै स्थानीय बासिन्दा लेखक: लिला बहादुर दोङ तामाङले आफ्नो पुस्तक तेमाल दरबार र तामाङ राजाहरु (२०६०:३०-३४) र तामाङ राजा ह्रेन्जेन दोर्जे र त्यो अन्तिम युद्ध भएको मानिने तिमाल सर्स्युखर्क गाविसमा जन्मेका स्थानीय बासिन्दा G.D. Tamang Ujwal ज्ञान ध्वज तामाङ (उज्वल) द्धारा विभिन्न समयमा लिखित (तामाङ पू्र्खा अनि मेरो आक्रोश) नामक लेखहरुमा उल्लेख गरिएका छन।

त्यो समयमा आफूसंग रहेकोे बाँकी रहेकोे राज्यलाई जोगाउन दस्ता तयार पार्दै थिए। उनलाई शान्ति सम्झौताका लागि सुनकोशी नदिको बगरमा आउन गोर्खाली पक्षबाट बोलाइएको थियो। ह्रेन्जेन दोर्जेका भाइभारादारहरुले गोरखली पक्षप्रती अलि शंका व्यक्त गरे, तर धार्मिक र अहिंसाबादी राजा ह्रेन्जेन दोर्जेले भाइभारादारको कुरा सुनेनन। अन्ततः उनी बिना हातहतियार वार्ता र मीत लगाउने भनिएको स्थल तिमालबेशीको सुनकोशी बगरमा पुगे। उनी घोडचढी त्यहाँ पुगेका थिए।

उनलाई पलान्चोके काजीले स्वागत गरे। वार्ताका लागि वस्दै उनले सोधे, राजा चाहिँ वार्ताका लागि नआएको?

षड्यन्त्रको आभास भएपछि आफ्नो घोडा चढेर उनी त्यो ठाँउबाट भाग्न खोज्दा बालुवामा लुकाएर राखेको हतियार झिकी गोर्खाली पक्षबाट आक्रमण सुरु गरे, भाग्दै गरेका ह्रेन्जेन दोर्जे माथी पहिलो तरबार प्रहार अमलटार भन्ने ठाँउमा भएको बुझिन्छ जहाँ छेक्ने क्रममा औंला छिनेर भुइँमा झरेको बुझिन्छ । अन्तिम प्रहार भोकटार भन्ने ठाँउमा भयो र उनी ढले। उनको टाउको सुनकोशी नदिमा बगाइयो।

यस युद्धमा तामाङ सैन्यमा ठुलो क्षति हुन पुग्यो। यता गोर्खली पक्षले सानतिनो क्षति मात्र बेहोर्नु पर्‍यो। जङ्गबहादुर राणाको जीजुबुबा र वलभद्र कुँवरका ठुलाहजुरबुबा त्यो समयका चर्चित सेनानायक रामकृष्ण कुँवरका एकजना भाइले यश युद्धमा ज्यान गुमाए। यश विषय खुल्ने एक लालमोहर रेग्मी रिसर्च सेरिज वर्ष ४ अंक ५ (डिसेम्बर ,सन १९७२:९४-९५) मा पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरको नाममा लेखेको लालमोहरमा उल्लेख छ। किरात राज्य जित्नका लागि म तिम्रै भर परेको छु, तिम्रा बुद्धि र तरबार बिना किरात फत्ते गर्न सक्दिन, तिम्रा भाइ जब तिमालमा मारिए, त्यो बेला म निक्कै दु:खि भएको थिए, भन्दै किरात फत्ते गर्न रामकृष्ण कुँवरलाई लालमोहरमा उत्साहित गरिएको छ।

किर्तिपुरबाट बुधबार आस्विन ५ मा लेखिएको यो लालमोहर विक्रम सम्वत: १८२९ लेखिएको हुन सक्रे इतिहास सशिरोमणी आचार्यको अनुमान छ। किरात जित्न १८२९ भदौ १३ मा रामकृष्ण दुधकोशी तरिसकेको आधारमा आचार्यले यस्तो अनुमान गरेका हुन।

मित्रताको नाममा धोका:

तिमाल क्षेत्रमा प्रचलित अनुश्रुती अनुसार तामाङ शासक ह्रेन्जेन दोर्जेका षड्यन्त्रमुलक र धोकापुर्ण ढङ्गले कसरी हत्या गरियो भन्ने प्रसङ्ग: माथी परिसकेको छ। यसबारे मुलधारका मानिने इतिहासकारहरुले छर्लङ्ग हुने गरि लेखेको हालसम्म पाएको छैन। तर आधिकारिक मानिने सरकारी निकाय, स्वयम राजदरबारले प्रकाशित गरेको तथा इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेको इतिहासहरुमा पृथ्वीनारायण शाहका पू्र्खा तथा उनी स्वयमले मित्रताको नाममा अघिल्लो समय हतियार जमिनमुनि गाडिराख्ने र जोसंग मित्रता गाँस्ने हो, त्यो पक्षलाई बिना हतियार बोलाउने तथा अन्तिममा हतियार झिकेर निशस्त्र भएकाहरुलाई मार्ने गरेको उल्लेख भएको पाइन्छ।

पुरातत्व विभागको मुखपत्र `प्राचीन नेपाल’ संख्या २८ (श्रावण  २०३१: २०) मा प्रकाशित २८ (श्रावण  २०३१: २०) मा प्रकाशित ‘गोरखा वंशवली’ को राम शाह प्रकरणमा यस्तो एउटा तथ्य पढ्न पाइन्छ।

बारपाकमा घले राजा चाग्या र उनका भाइ सुर्तानलाई मित्रताको मनसुवा राखी राम शाहलाई पत्र पठाए। यस बारे राम शाहले ६ थर प्रभृती भारदारहरुलाई सुनाए। भारदारहरुले चाग्या र सुर्तानको फौज धेरै भएको, उनीहरु शरिरिक वलमा पनि बलियो भएकोले उनीहरुलाई हराउन कठिन हुने हुँदा छल गरि मार्नुपर्ने सुझाव राम शाहलाई दिए। यसका लागि चाग्या र सुर्तानलाई हतियार नलिइ बालुवाबेशिमा मीत लगाउन बोलाए। यता गोरखालीहरुले मीत लगाउने भनिएको अघिल्लो दिन नै बालुवाबेशिमा गइ खुँडा, खुकुरी, तरबार आदि लुकाइ राखे।

ती भाइभारादार राम शाह जस्तै अनुहार परेका ‘चुहान’ नामका व्यक्तिलाई राम शाहजस्तो तुल्याएर राम शाहको दर्शन गरि बालुवाबेशी आइपुगे। गोरखालीहरुले आफ्नो अनुकुल ठाँउमा उनीहरूलाई राखे। दुबैतर्फ आराम कुशल विषयमा कुराकानी भए। मितेरी लगाउने काम सुरु भयो। त्यहाँ आएका निशस्त्र घले तथा भोटेहरु निशंका भएर मितेरी समारोह हेर्न लागे। त्यतिबेलै गोरखालीहरुले बालुवामा लुकाएर राखिएको हतियार झिकि चाग्या र सुर्तान माथि प्रहार गरे। चाग्या त्यही मारिए। सुर्तान भाग्न सफल भए।

यस्तो काम पृथ्वीनारायण शाह स्वयमले पनि गरेको थियो भने इतिहास शिरोमणि बाबुराम आचार्यले श्री ५ महाराजधिराज संवाद सचिवालय राजदरबारबाट छापिएको ‘बढामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त्त जीवनी’ मा यस्ता प्रसङ्ग छापेका छन।

आचार्य (२०६१:२०८) अनुसार पृथ्वीनारायण शाह भक्तपुरका राजा रणजीत मल्लबाट एक युवती मैजुकन्या सेवासुसाराका लागि सौगात पाएका थिए।
पृथ्वीनारायण नुवाकोट आएपछि ती मैजुकन्या भित्रीनी बनिन (उनलाई क्षयरोगले समात्यो) ऊनीलाई देवघाटको बाटो गरि बनारसतिर पठाउदा तनहुँका राजा त्रीविक्रम सेनले ती मैजु बसेको डोलिनको झापन झिकेर उनको मुख हेरिदिए। यो घाटनले पृथ्वीनारायण शाह रिसले चुर भए।

आचार्य (२०६१:२११) अनुसार नै यो घाटनको बदला लिन पृथ्वीनारायण शाहले लमजुङ राज्यलाई फुटाएर आधा-आधा गरि बाँडने भनी त्रीविक्रम सेनालाई सम्झौताका लागि निशस्त्र आउन भनी ज्यामिरघाटमा बोलाए। तर पृथ्वीनारायण शाहले आफ्नोे भाइभारादारहरुलाई अघिल्लै रात बगरका बालुवा भित्र आफ्नो अंगरक्षकहरुको हतियार लुकाएर ठिक गरेका थिए।

त्यहाँ पृथ्वीनारायण शाहको भित्रीनीको झापन खोली मुख हेरेको कुरा उठयो. विवाद चल्यो। त्यहिबेला गोरखालीहरुले बालुवामा लुकाएर राखेको हतियार झिके अनि त्रीविक्रम सेनालाई पक्रीएर नेल हाली गोरखा ल्याए।  पछि रिस ठन्डा भएपछि पृथ्वीनारायण शाहले त्रीविक्रम सेनालाई छाडिदिए।

यस्तो षड्यन्त्रमुलक घाटनहरुको पृष्ठभुमि भएका कारण भन्न सकिन्छ तिमाल क्षेत्रमा पनि त्यहाँका शासक ह्रेन्जेन दोर्जेलाई मित्रता गाँस्ने बहानामा छलकपड र धोकापुर्वक मारे र गोरखालीहरुले त्यो क्षेत्र आफ्नो राज्यमा गाभे।

सभार समाज सेवी G.D. Tamang Ujwal को फेसबुकबाट