मेरो माईति घर “क्यु जी ई”

✍️ सेमन्त राई                                                 संखुवासभा हाल वेलायत

सन् १९९५ मा जब पहिलो छुट्टी पछि हंगकंग छोडेर वेलायत आएँ त्यहाँबाट क्विन्स गोर्खा ईन्जीनियर्स (क्यु.जी.ई.)को जागिर इन्भिक्टा पार्क ब्यारेकमा नै सिमित भयो। २२ वर्षको सफल कार्यकाल पश्चात सन् २०१४ मा त्यहिंबाट अवकाश प्राप्त गरें। पल्टन छोडेको दिन आफ्नो घर छोडेर परदेश लागेको समयको याद नआएको पनि हैन। जागिरबाट अवकाश प्राप्त गरे पश्चात फेरी पनि क्यु.जी.ई.को कुनै कार्यक्रममा सहभागी हुन पाईन्छ के भन्ने खुल्दुली मनमा कताकता लागी रहेको हुन्थ्यो। हुनत अवकाश पछिको बसाई इन्भिक्टा पार्क ब्यारेक भन्दा टाढा नरहे पनि उही गार्डरुमको गेट अलि बिरानो महसुस हुने गर्दछ। जुन ठाउँ बिगतका दिनहरुमा दैनिक खेल्ने प्रांगण थियो। उही मेस, उही भान्छा घर (कुक हाउस), उही जिमखाना, उही अफिस, आफु बसेको प्यारो घरले चिनेर बोलाए झैं भान हुने गर्दछ। अझ आफु बसेको घर र बगैचा छेउ पुग्दा ती दिनहरुको कथाले पिरोल्ने गर्दछ। त्यो अवस्थामा कता कता लिल बहादुर क्षेत्रीको “बसाईं” उपन्यासको चरित्र धनेको अवस्था जो आफ्नो घर छोडेर सधैंको लागि बसाई सरेको याद आउँछ। एक महिला विवाह पछि माईती घर छोडेर पतिको घर जाँदाको दृश्यको याद आउँछ।
यसै क्रममा हिजो सन् २०१९, जुलाई १९ का दिन पल्टनका बहाल वाला गोर्खा मेजर पूर्ण सिङ्ग तामाङ्गको निर्देशन अनुसार सार्जन्ट मेजर वाराण्ट अफिसर क्लास टु (डब्लु.ओ. टू.)राम कुमार राईको संयोजनमा हामी अवकाश प्राप्त सबैलाई आफ्नो पल्टनमा निम्ता पठाएर स्वागत गर्नु भएको थियो। जसमा हाम्रो पल्टनको अवकाश प्राप्त सबै सदस्यहरुको लागि एउटा साझा संस्था “क्विन्स गोर्खा ईञ्जीनीयर्स एसोसिएसन (क्यु.जी.ई.ए.)” रहेको छ तर उक्त संस्थाको बारेमा धेरै जनालाई जाकारी नभएकाले कसैको चासो नदेखिएको हो कि भन्ने सोच रहेको छ। उक्त संस्थामा तदारुकताका साथ कुनै गोर्खालीहरुले चासो दिएर हात नहालेको हुनाले नै हामी अनभिज्ञ रहेको हुन सक्छ। यस भेलाको मुलभूत उद्देश्य नै एकापसमा त्यसको औचित्यको बारेमा छलफल र सल्लाह गर्नु रहेको थियो। कार्यरत पल्टनका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको उक्त भेलामा अवकाश प्राप्त सदस्यहरुको पनि उत्तिकै बाक्लो उपस्थिति रहेको थियो।गोर्खाली मात्र नभएर थोरै गोराहरु पनि क्यु.जी.ई.ए.को बारेमा सदस्य र शुभचिन्तक दुवै रुपमा जम्मा भएका थिए।
साँझ साढे सात बजे भेला हुने समय दीईएको र म पनि समयको निक्कै ख्याल गर्ने मान्छे भएकाले समयमा नै बाटो लागें। पुग्दा झन्डै पहिलो १० जना भित्र नै आफुलाई गन्न सफल भएको थिएँ। ३६ ईन्जीनियर रेजिमेण्ट, क्विन्स गोर्खा ईन्जीनियर्सको डब्लु ओ सार्जन्ट मेसको ढोका छिर्दा फेरी ५ वर्ष पहिलाको मेसमा बिताएका रमाईला क्षणहरुले झक्झकाए। पुग्न साथ उही बार, उही भवनमा उसरी नै जम्मा भएका सम्पूर्ण सदस्यहरु संगको भलाकुसारी सुरु भयो। त्यति मात्र परिवर्तन भएछ पहिलाको झैं ब्यारेलमा पसिना बगेको चिसो बियर पाउन छोडिएछ। सायद आधुनिक आर्मीमा अल्कोहल सेवनको बारेमा नियम परिवर्तनको प्रभाव हुनु पर्छ।
शुरुवातको भलाकुसारी पश्चात कार्यक्रमको अर्को चरणमा गोर्खा मेजर द्वारा स्वागत मन्तब्य साथ भेला हुनुको औचित्य र हाल क्यु जी ईको उपलब्धी र भावी कार्य योजनाको बारेमा जानकारी गराईयो। त्यसपछि केहि समय क्यु.जी.ई.ए.मेड्स्टोन शाखाको सोचको बारेमा छलफलका लागि सबै सामु बिचार प्रस्तुत गर्ने अवसर दिनु भयो। भविष्यमा क्यु जी ई इन्भिक्टा पार्कबाट अन्तै सर्ने निश्चित भएकाले सन् २०२५ भित्र यदि क्यु.जी.ई.ए.मेडस्टोन शाखा स्थापना गरेर कार्य संचालन गर्न सके सजिलो हुनेछ र यस कुराको बारेमा सोचेर अर्को भेलामा निचोडमा पुग्न सजिलो हुनेछ। जसरी रोयल ईञ्जिनीयर्स एसोसिएसनले ब्यारेक भित्र मेसको सुबिधा चलाउँछ उसरी नै हामीले पनि चलाउनको लागि सजिलो हुनेछ। जब शुरु नगरे सम्म केहि नहुने हुनाले यसलाई कार्यन्वयन गरेर अगाढी बढ्नु नै राम्रो हुने कुरामा सबैको सहमती भएको थियो।

क्यु.जी.ई.ए.मेड्स्टोन शाखा कसरी, कुन रुपमा शुरु गर्ने भन्ने कुराको छलफल गरी अर्को भेलामा निर्क्यौलमा पुग्ने कुरा बहस भएको थियो। यसै क्रममा पल्टनको आकार बढ्ने र पुरानो गुमेको ६७ स्क्वाड्रोन फिर्ता हुने आस्वाशन प्राप्त भएको कुराले हामीलाई निकै हर्षित बनाएको थियो। साथै चौथो स्क्वाड्रोनको पनि थोरै हल्ला चलेको छनक प्राप्त भएको कुरा जानकारी भयो। हाम्रो सिनियर गुरुजी रत्न लिम्बु र गोर्खा मेजर पुर्नसिङ्ग तामाङ्गले क्रमस: £५० र £४० बारमा राखी हामीलाई सौहार्द्रता प्रकट गर्नु भएको थियो। उपस्थीत सबैको तर्फबाट उहाँहरुलाई हार्दिक आभार ब्यक्त गर्दछौं। सम्पूर्ण व्यवस्थापन गर्नु भएकोमा गोर्खा मेजर तथा सार्जन्ट मेजरलाई सबैको तर्फबाट धेरै धन्यवाद दिन चाहन्छौं।

थुप्रै भाईहरुलाई सफलताको सीढींमा उक्लदै गएको देख्न पाउँदा ज्यादै खुशी लाग्यो। साथै निकै समयको अन्तरालमा भेटेर गफ गर्न पाउँदाको मज्जै फरक भएको थियो। अन्तमा ११ बजेको अन्तिम अर्डर भन्ने आवाज बारबाट आउँदा पो समयले नेटो काटिसकेको रहेछ भन्ने जानकारी भयो। तत् पश्चात बिस्तारै आआफ्नो गन्तब्य स्थान तर्फ लागियो।म भने मेरो व्यक्तिगत ट्याक्सीलाई फोन गर्दै गार्डरुम तिर हान्निएँ।
समयले जिन्दगीलाई दास बनाउँछ, त्यसैले हिजोको जीवनका अनुभवहरु आज अनौठो सम्झना भएर रहन्छ। जीवनमा उन्नति प्रगतीको खोजी गर्दै जाँदा विभिन्न विकल्पहरु हामी सामु आउने गर्दछ। हिजो खेलेका आफ्नै लाग्ने काखहरु छोडेर पर पराई जस्तो भएर जीवन यापन गर्नु पर्ने हुन्छ।जीवन यापनको क्रममा अनेकौं नाटकहरुको पर्दामा आफुलाई उभ्याउनु पर्ने हुन्छ, अन्तमा कुनै नाटकका पात्रहरु सबैको नजरमा सफल मानिन्छ भने कुनै पात्रहरुलाई कसैले मन पराउन्दैनन्। त्यहि कुराहरु नै भविष्यका भुल्न नसकिने क्षणको रुपमा जीवन भर रही रहन्छ। आफुलाई विस्थापन गराउने क्रममा अनेकौं चरणहरु पार गर्नु पर्छ तिनै चरणहरुको एक मुष्ठ संगालो नै जिन्दगी हो। त्यहि जिन्दगीको भोगाईमा अर्को पाना हिजोको क्यु जी ई ए साँझ पनि थपियो। फेरी अर्को भेटमा बाँकी पानाहरु लगातार भरिने आशामा रहनु छ।