मेहेनत, इमान्दारिता र संघर्षले बनाएको एक सफल व्यक्तित्व- धनबहादुर तामाङ

काभ्रेको बनेपा नगरपालिका १२, बासडोलमा बमबहादुर तामाङ र आमा ठकुरानीका पुत्रका रूपमा धनबहादुरले यो संसार देख्न पाए । २०१६ मंसिर २० मा जन्मिएका तामाङको परिवार मध्यमवर्गमै गनिन्थ्यो । बमबहादुर दिवंगत भइसके भने ठकुरानी अहिले ९१ वर्ष पुगिन् ।

करिब ६ वर्षको उमेरपछि गणेश भारती प्राथमिक विद्यालय (अहिले माध्यमिक)मा उनको अध्ययन आरम्भ भयो । विद्यालय भर्ना हुँदाका बखत उनलाई नेपाली भाषा आउँदैनथ्यो । मात्र मातृभाषा अथात् तामाङ भाषा मात्र बोल्न आउँथ्यो । विद्यालयमा उनको पढाइ अब्बल थियो भने शिक्षक–शिक्षिकासँगको सम्बन्धसमेत सुमधुर थियो । सधैं कक्षा प्रथम हुने तामाङ ६ को पढाइ सकेपछि माध्यमिक तहका लागि आवास माविमा भर्ना भए । यहाँबाटै उनले २०३३ सालको एसएलसीमा प्रथम श्रेणीमा उत्तीर्ण भए । पढाइको सिलसिलामा काठमाडौं आउनुपर्यो । २०३४ मा अमृत साइन्स क्याम्पस भर्ना भई प्रमाणतहको शिक्षा २०३६ मा पूरा गरे । २०३६ सालको विद्यार्थी आन्दोलन चरम उत्कर्षमा पुगेपछि भने उनले धेरै समस्या झेल्नुपर्यो ।

 

पञ्चायतकालीन शासनले दमनकै कारण क्याम्पसमा अनेकन काण्ड भए । पछि क्याम्पसै बन्द भयो । त्यसपछि गाउँ फर्किएर आफू पढेकै स्कुलमा करिब १ वर्ष अध्यापन गराए । उनी भन्छन्, ‘नपढी हुँदैन भन्ने लाग्यो र २०३९ सालमा भारतको रुड्की विश्वविद्यालयमा इन्जिनिरिङ विषयमा अध्ययनका लागि भर्ना भएँ ।’ २०४३ मा सिभिल इन्जिनियरको पढाइ सकियो । त्यो समयमा कर्णाली जलविद्युत् आयोजनाको काम गर्ने भन्ने थियो तर अहिलेसम्म त्यो काम हुन नसकेकोमा उनको दुखेसो छ ।

 

भारतमा अध्ययन सकेपछि नेपाल फर्किएर स्थानीय विकास मन्त्रालयबाट अस्थायी सहायक इन्जिनियरका रूपमा काम आरम्भ गरे । २०४९ मा लोकसेवाबाट स्थायी भई राष्ट्रसेवामा तल्लीन भए । कर्णाली, हुम्ला, जुम्ला, सोलुखुम्बुलगायत धेरै जिल्लामा काम गरे । स्थानीय विकासको प्राविधिक शाखा खारेज भएपछि, खानेपानी आवास मन्त्रालयमा गई खानेपानी विभागमा काम गरे ।

उनी २०५६ सालमा सिनिएर डिभिजनल इन्जिनियरमा बढुवा भए । बढुवाअघि पनि प्रमुख भएरै काम गरिरहेका थिए ।

तामाङ विभिन्न कार्यालयमा काम गर्दै क्षेत्रीय निर्देशनालय विराटनगरमा सरुवा भए । विभिन्न मन्त्रालय, विभाग तथा आयोजना प्रमुख बने । उनी २०६१ मा सह–सचिवमा बढुवा भए । बढुवापछि स्थानीय पूर्वाधार तथा कृषि सडक विभागको महानिर्देशक हुँदै सडक, खानेपानी आयोजना, मोटर पुल, सिँचाइ, ग्रामीण बस्ती, झोलुंगे पुललगायत थुप्रै काम गरे । उनी महानिर्देशक रहँदा ७५ वटै जिल्लामा यस्ता कार्यक्रम लागू गराए । महानिर्देशकबाट शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा पुनर्निर्माण परियोजना प्रमुखका रूपमा रहेर काम गरे ।

२०६९ सालमा सचिवमा बढुवा भए । सचिव भएको पहिलो वर्ष सार्वजनिक खरिद तथा अनुगमन कार्यालयमा काम गरे । यहाँ उनले १ वर्ष सेवा गरे । त्यस्तै उनले शान्ति मन्त्रालय, महिला बालबालिका मन्त्रालय, जल तथा ऊर्जा मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालयलगायतमा काम गरे । २०७४ मा राष्ट्रिय सतर्कता केन्द्रमा कार्यरत छँदै २०७४ असार मसान्तबाट राष्ट्रसेवाको कामबाट अवकाश पाए ।

उनकै विभिन्न कार्यकालमा राष्ट्रिय गौरवका धेरै काम भए । नेपालको त्यो समयमा ग्रामीण सडकको अवस्था खासै नरहेको अवस्थामा उनकै पहलमा अहिले गाउँ–गाउँका सडकमा गाडी गुड्न पाएका छन् । उनले नदी बेसिन आयोजनाको प्रोफाइल निकाल्ने, जल स्रोत नीति तर्जुमा गर्ने, हुलाकी राजमार्गको सम्झौता अड्किएको अवस्थामा त्यसलाई सुचारु गर्ने, मध्य पहाडी राजमार्गलाई द्रुत रूप दिने, काठमाडौं निजगढ फास्ट ट्र्याकको काम नेपाली सेनालाई दिने काममा अग्रसरता, सुरुङ र फ्लाई ओभरको अध्ययन गर्ने निकाय स्थापना, रेलमार्गको कामलाई अघि बढाउने, नेपालको कुल जलविद्युत् क्षमताको अध्ययन, बेपत्ता आयोगको ऐन पास गर्नेलगायत राष्ट्रिय गौरवका धेरै काम गर्दै सफल कर्मचारीको छवि बनाएका छन् ।

इमानदार र स्वच्छ छविका रूपमा परिचत तामाङ देश विकास र निर्माणमा सक्रिय रहे । जापान, अमेरिका, अस्ट्रेलियालगायत देशमा विभिन्न तालिम लिने मात्र नभई आफ्नो शिक्षा र कार्यक्षमतालाई समेत विदेशी र स्वदेशी विज्ञबीच प्रयोगमा ल्याए । उनले नेपालमा बढ्दो भ्रष्टाचार र कर्मचारीतन्त्रमा भएको राजनीतीकरणलाई अन्त्य गरी देशलाई अगाडी बढाउने कार्यमा एकजुट हुनुपर्नेमा विश्वास राख्छन् । उनको कार्यक्षमतालाई देखेर अस्ट्रेलिया, अमेरिकालगायत देशबाट आएका प्रस्ताव बेवास्ता गर्दै देश निर्माणमा निरन्तर लागिरहे । ‘पछिल्लो समय युवामा बढदै गएको नैराश्यले न आफू सफल भइन्छ न देशले फड्को मार्न सक्छ,’ उनको बुझाइ छ । नेपालभन्दा कैयौं कमजोर र गरिब मुलुक आज विश्वका धनी देशमा कहलिन थालेका छन् । नेतृत्ववर्गमा केही गर्छौं भन्ने अठोट लिएर नेतृत्व अघि बढे हाम्रो जस्तो विविधतामा एकता भएको देश समृद्धि र विकासमा धेरै समय नलाग्ने उनको विश्वास छ । बढ्दो बेरोजगारीलाई अन्त्य गर्न देशमा विभिन्न उद्योग कलकारखाना खोल्ने र रोजगारी सिर्जना गर्नुका साथै आर्थिक उपार्जनका कार्यमा युवाहरूलाई लगाउन सके देशको मुहार फेर्न धेरै समय नलाग्ने तामाङ बताउँछन् ।

नेपालीको बानी सकारात्मकभन्दा नकरात्मक कुरालाई बढी जोड दिने छ । यही नकारात्मक कुराबाट टाढै रहनुपर्ने उनी सुझाउँछन् । ‘सकरात्मक सोच, इमानदारी र निरन्तर संघर्षबाटै सफलताको कडी चुम्न सकिन्छ,’ तामाङले भने । पछिल्लो समय नेपाली युवा बिदेसिने क्रम बढ्दै गएकोमा उनको चित्त दुखाइ छ । भन्छन्, ‘विदेश जानु अध्ययनका लागि राम्रो हो । तर देशलाई बिर्सेर उतै भासिने प्रवृत्तिले मुलुकलाई उन्नतिको बाटोमा लैजाँदैन । बरु आफ्नो अध्ययन पूरा गरी नेपाल फर्किएर आफूले सिकेका र जानेका कुरालाई बाँडे देश उन्नतिको पथमा जाने उनको विश्वास छ । उनले मानिस सफल र प्रतिष्ठित बन्न ठूलो–सानो कामको लेखाजोखा नगरी श्रमको सम्मान गर्दै कामलाई निरन्तता दिए जो कोही सफल हुन सक्ने बताए ।

(गोकर्ण न्युजबाट)