अदालतको स्थगन आदेशले विकास निर्माण प्रभावित भएको भन्दै प्रधानमन्त्रीको आक्रोश

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतका कारण विकास निर्माण प्रभावित हुने गरेको दाबी गरेका छन्। आइतबार राष्ट्रिय योजना आयोगको बैठकमा प्रधानमन्त्री ओलीले अदालतको स्थगन आदेशका कारण विकास निर्माणको काम अवरुद्ध भइरहेको बताएका हुन्।

‘कस्तामा रोक्न पाइने कस्तामा रोक्न नपाइने, विकास महत्वपूर्ण कामका विरुद्ध एउटा रिट हालिदिन्छ । त्यसपछि स्थगत आदेश भइहाल्छ, योजना आयोगको उपाध्यक्ष समेत रहेका ओलीले अगाडि भने, ‘स्थगन आदेश भएपछि कति समयसम्म विकास प्रयायसहरु अवरुद्ध हुने मात्र होइन, नोक्सान परिरहेको हुन्छ । जनशक्ति खेर जान्छ । कसैले यन्त्रहरु भाडामा लिएको रहेछ भने तत्काल फिर्ता गर्न पनि सक्दैन, राखिरहँदा भाडा तिरिरहनु पर्ने अवस्था छ ।’

उनले विकास, निर्माणको कामलाई तीव्रता दिन आवश्यक कानुनहरुको संशोधन गर्नुपर्ने आवश्यकता औंल्याए । ओलीले विकास, निर्माणको कामलाई गति दिन पूराना संरचनाहरुमा सुधार गर्न जरुरी रहेको पनि बताए ।